जेठ ०१, २०८१, मंगलबार
               

मंसिरदेखि विद्युत् महशुल घट्ने

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युत् महशुल घटाएको छ । आयोगले कायम गरेको नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात् पुस महिनाको बिलिङबाट लागू हुनेछ ।

नयाँ विद्युत्दर अनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ । ५ एम्पियरको लाई विपन्न वर्गमा राखिएको छ । आयोगले युनिट उपभोक्ताको युनिट हेरी इनर्जी शुल्कलाई समायोजन गरेको छ । सिंगल फेजबाट विद्युत् लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई यसअघि १० रुपैयाँ लिएको इनर्जी शुल्क अहिले ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यस्तै ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।

ट्युबेल संचालन गर्ने उपभोक्ता तथा सिँचाइ उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाइएको आयोगले जनाएको छ । नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ भने अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि