जेठ ०१, २०८१, मंगलबार
               

पौरखी गाउँ : एकै ठाउँमा एक करोडको खसीबोका बिक्री !

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य अकासिएपछि उपभोक्ताको रोजाइमा स्थानीय खसीबोका परेका छन् । 

वसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा खसीबोका बिक्री गरेको वसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिए । सहकारीमा आबद्ध कृषकबाट खसीबोका संकलन गरी बिक्रीको लागि बागलुङ बजार, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा बिक्री भएको थियो । 

दुईवटा सहकारीमार्फत खसीबोका बिक्रीबाट गाउँमा करिब दुई करोड रुपैयाँ भित्र्याएको सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताइन् । घरमा उत्पादन भएका खसी बिक्रीको लागि बजार सुनिश्चित भएपछि कृषकहरू हर्षित छन् । 

‘पहिले पहिले समय कटाउन बाख्रा पाल्ने गर्थेँ’, तग्राम रानीकरङकी कृषक चन्द्रकला पुनले भनिन्, ‘अहिले घर खर्च चल्ने गरी पाल्न थालेकी छु ।’ उनले यसपालि सातवटा बोका बिक्री गरिन् । दुवै सहकारीले आफ्ना सेयर सदस्यसँग २५ किलोसम्मको जिउँदो खसी बोका ४५० र २५ किलो माथिको पाँच सय रुपैयाँमा खरिद गरेका छन् । 

‘पहिलो बजार खोज्दै जानुपर्थ्यो, अहिले ग्राहक घरघरमा आउन थालेका छन्’,  प्रबन्धक विकले भनिन्, ‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ । गाउँघरमा वन चरण गरेको खसीबोकाको मासु स्वादिष्ट र स्वास्थ्य लागि हितकार भएपछि उपभोक्ताले तराई क्षेत्रकाभन्दा लेक क्षेत्रका खसीबोका खोज्न थालेका छन् । 

वसन्त सहकारीमा ६११ र सप्तरंगीमा ३३१ जना सेयर सदस्य छन् । प्रत्येक सेयर सदस्यले बाख्रा पालन गरेको प्रबन्धक पुनको भनाइ छ । बाख्रा पालनको लागि सहकारीले सस्तो व्याजमा ऋण प्रवाह गर्दै आएको छ । दुवै सहकारीले तिहारको लागि पनि खसीबोका तयारी अवस्थामा राखेका छन् । वसन्तले वार्षिक एक हजार र सप्तरंगीले सात सयवटा बिक्री गर्ने लक्ष्य लिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि