जेठ ०२, २०८१, बुधबार
               

रेल्वे सेवाबारे नेपाल-भारतबीच महत्त्वपूर्ण सहमति

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

नेपालको जयनगर हुँदै भारतको कुर्था खण्डमा यात्रुवाहक रेल्वे सेवा सुरु गर्न दुई देशबीच हस्ताक्षर भएको छ ।

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका नयाँ दिल्लीमा भएको बैठकमा सो हस्ताक्षर भएको हो । बैठक असोज २० र २१ मा भएको थियो ।

बैठकमा रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोड गज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । प्रस्तावित रक्सौल–काठमाडौँ ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने छ । 

यसैगरी भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे बैठकमा छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

हालै निर्माण पूरा भएको भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किमी खण्डमा यात्रुवाहक रेल सञ्चालन गर्न गरिएको प्राविधिक पूर्वतयारीबारे पनि बैठकमा समीक्षा गरिएको थियो । रेलमार्ग अन्तर्गतको १७.२५ किमी कुर्था–बिजलापुर खण्डको निर्माण शीघ्र सम्पन्न गर्न नेपालले आवश्यक सहयोग एवम् सहजीकरण गर्ने आश्वासन दिएको थियो । १८.६ किमी जोगवनी–विराटनगर रेलमार्गको निर्माण चाँडो सम्पन्न गरी छिट्टै सञ्चालनमा ल्याउन पनि दुवै पक्षबीच सहमति भएको छ । 

बैठकमा रक्सौल–काठमाडौं ब्रोड गेज रेलमार्ग र फेज २ रेल सञ्जालअन्तर्गतका परियोजनामा भएका प्रगतिबारे पनि छलफल भएको थियो । रेलमार्गलगायत नेपाली रेल कर्मचारी तथा प्राविधिकको क्षमता विकास, व्यवस्थापन एवम् प्रशिक्षणका क्षेत्रमा प्राविधिक सहकार्यलाई सुदृढ गर्नेबारे दुवै पक्षबीच सहमति भएको जनाइएको छ । 

भारत–नेपाल संयुक्त कार्यदलको पाँचौँ बैठक तथा परियोजना सञ्चालन समितिको सातौँ बैठकमा भारतीय टोलीको नेतृत्व रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए । परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालय सहसचिव अनुराग भूषणले गरेका थिए । दुवै बैठकमा नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि