जेठ ०८, २०८१, मंगलबार
               

मल नपाएर रौतहटका किसान चिन्तित

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

रौतहट । किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ । तर, रौतहटमा अनुदानमा पाइने मल छैन । मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन् ।

धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै केही दिनअघि आन्दोलनसमेत गरेका थिए ।

रौतहटका बजारमा युरिया मलको अभाव भएको र भारतीय सीमा क्षेत्रबाट ल्याउँदासमेत कानुनी झन्झटको सामना गर्नुपरेको किसानको दुखेसो छ । नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिएपछि किसान आक्रोशित बनेका छन् ।

किसानले माग गरेबमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । किसानले बर्षेनि मलखादको समस्या खेप्नुपरिरहेको गुनासो गर्दै आएका छन् ।

बजारमा सर्वसुलभ रूपमा मलको व्यवस्था, ट्याक्टरमा लाग्ने कर खारेज, कृषि बीमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरूले रौतहटमा प्रदर्शनसमेत गरेका छन् । सरकारले किसानका समस्याका बारेमा ध्यान नदिँदा दिन प्रतिदिन उत्पादन घट्दै गएको कृषकहरूको गुनासो छ ।

मलखादको माग र आपूर्तिमा छैन तालमेल

युरिया मल पर्याप्त हुन नसक्दा १० बोरा आवश्यक रहे पनि दुई बोरासमेत पाउन पनि गाह्रो हुने गरेको किसानहरूको गुनासो छ ।

किसानका नाममा भारतबाट व्यापारीले तस्करी गरेर ल्याउने गरेको र उनीहरूले व्यापार गर्ने भन्दै सीमामा खटिएका सुरक्षाकर्मीले कडाइ गर्ने गरेका छन् । अवैध तरिकाबाट मल ल्याउन नपाइने सुरक्षाकर्मीको भनाइ छ ।

पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयले रौतहटले किसानलाई मल ल्याउन सहजीकरण गरेको छ । जिल्लामा करिब ४० हजार हेक्टरमा धानखेती हुने गरेको तथ्यांक छ ।

गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा १५५ वटा सहकारीमार्फत युरिया दुई हजार ८५२ मेट्रिक टन र दुई हजार ३५१ मेट्रिक टन डीएपी मल बिक्री गरेको थियो ।

यस आर्थिक वर्षको भदौसम्ममा एक हजार ७५१ मेट्रिक टन युरिया मल र ३५६ मेट्रिक टन डीएपी मल वितरण गरेको कम्पनीका सूचना अधिकारी गोविन्द घिमिरेले बताए ।

अहिले कम्पनीको चन्द्रनिगाहपुरस्थित गोदानमा मल छैन । यस्तै, गौरमा रहेको साल्ट ट्रेडिङ डिपोको गोदाम पनि खाली रहेको प्रमुख बाकदेव मिश्रले बताए । यस डिपोले ५५ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ ।

रौतहटका किसानका लागि अनुदानमा आएको मल गत वर्ष मकवानपुर, सिन्धुली, सर्लाही, बारा जिल्लाका विभिन्न सहकारीसँग मिलेर व्यापारीहरूले लैजाने गरेका पाइएको स्थानीय किसानले गुनासो गरेका छन् ।

सहकारी संस्थाहरूले व्यापारीलाई मल बिक्री वितरणको जिम्मा दिने र व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्ने गरेको धेरै किसानको भनाइ छ ।

अनुदानको रासायनिक युरिया मल सहकारी संस्थाले ७२७ रुपैयाँ ५० पैसामा ५० किलो खरिद गरेर ढुवानी खर्च जोडेर ८५० रुपैयाँसम्ममा आफ्ना शेयर सदस्यलाई बिक्री गर्न सक्छन् । तर, आफ्ना सदस्यलाई वितरण नगरी व्यापारीमार्फत दुई हजार रुपैयाँ प्रतिबोरा बिक्री हुने गरेको किसानको गुनासो छ ।

विगतका वर्षमा झैँ रौतहटको सीमा नजिकैको भारतीय बजारबाट किसान लुकाइछिपाई मल ल्याउन बाध्य छन् । भारतीय बजार घोडासान, चैनपुर, बैरगनीया, छौडादाना, आधापुरलगायत स्थानबाट किसानले लुकिछिपी मल ल्याउन बाध्य भएका हुन् ।

किसानका समस्याका बारेमा केन्द्र तथा प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाइ नभएको पूर्वसांसद कुन्दन कुशवाह बताउँछन् । कटहरिया नगरपालिकाका किसान जितेन्द्र यादवले नेपालमा मल नपाएर निकै सास्ती खेप्नुपरेको गुनासो गरे ।

तीन बिघा क्षेत्रफलमा लगाएको धान खेती रोग लागेर सुक्दै गए पनि कतैबाट कुनै सहयोग नपाएको कटहरिया नगरपालिकाकी अर्की किसान अनिता देवीको गुनासो छ । 


कस्तो लाग्यो ?

यो पनि