बैशाख १६, २०८१, आइतबार
               

सुध्रिएन भाटभटेनी, बजार अनुगमनपछि दुई लाख जरिवाना

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

नेपालगन्ज । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार नेपालगन्जमा सञ्चालन रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना गरेको छ । 

संयुक्त अनुगमन टोलीमा रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्यालले भाटभटेनी सुपरमार्केटले कुकुरलाई खुवाउने खानेकुरा ‘डग फुड्स’मा अत्यधिक मुनाफा लिने गरी बिक्री वितरण गरेको पाइएकाले मूल्य समायोजन गरी बिक्री वितरण गर्ने चेतावनीसहित दुई लाख जरिमाना गरिएको बताए ।

उनले भने, ‘अनुगमनको क्रममा खरिद बिल र बिक्री बिलमा धेरै नै असमानता भेटिएकाले जरिमाना गरेका हौ । तोकिएको मूल्यभन्दा पनि अधिक मूल्यमा बिक्री वितरण गरेको भेटिएकाले पहिलो चरणमा दुई लाख रुपैयाँ जरिमाना गरेका छौँ । जरिमाना नतिरी ती वस्तुहरूमा पुनः मूल्य समायोजन नगरेर बिक्री गरे थप कारबाही गरिनेछ ।’

मंगलबार मात्र भाटभटेनी सुपरमार्केटमा मात्र बिक्री वितरणका लागि तयार गरिने बेकरी उद्योगमा संयुक्त अनुगमन समितिले अनुगमन गर्दा बेकरी उत्पादनका लागि प्रयोग हुने सबै कच्चा पदार्थ म्याद गुज्रिएको अवस्थामा पाइएकाले उद्योग सिज गरी भेटिएको सबै म्याद गुज्रिएका कच्चा पदार्थ नियन्त्रणमा लिई दुई लाख रुपैयाँ जरिमाना गरेको थियो । 

सोही टोलीले बिहीबार खजुरा बजारमा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुईवटा व्यापारिक फर्मलाई ७० हजार रुपैयाँ जरिमाना गरेको छ । लेबल नलगाइएका करिब ४०० बोरा चामल बिक्री वितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब छ हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्रीसमेत नष्ट गरिएको छ ।

उनले अनुगमनका क्रममा पसलहरूमा मूल्य सूची नियमित रूपमा अद्यावधिक गर्न, उपभोक्ता झुक्याउने काम नगर्न र लेबल नभएका सामग्री खरिद-बिक्री नगर्न एवं बिल बिजक राख्न निर्देशन दिइएको बताए ।

पटकपटक बजार अनुगमनमा परेर कारवाही भोग्ने गरे पनि भाटभटेनीले गल्ती सच्याउने गरेको छैन । 


कस्तो लाग्यो ?

यो पनि