बैशाख १९, २०८१, बुधबार
               

चौधरी ग्रुपले एक आर्थिक वर्षमा १४ अर्ब २८ करोड राजश्व बुझायो

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ। नेपाली कांग्रेसका सांसद एवं देशका प्रख्यात उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो। 

पछिल्लो वर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको छ। एउटा व्यापारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान हो। 

‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले मलाई उत्साहित बनाएको छ’, सांसद एवं ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु।’

विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड  रूपैयाँ योगदान गरेको छ। चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन्। चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तिय क्षेत्रमा सम्म लगानी गरेको छ। यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एकमात्र डलर अर्बपतिको सूचिमा रहेका छन्।  

गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए। स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको थियो। ग्रुपका अधिकारीहरूले लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको उनले बताए। 


कस्तो लाग्यो ?

यो पनि