जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन ऊर्जाको परीक्षण

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । विश्वका विकसित देशहरुले नयाँ विकल्पको रुपमा देखेको हाइड्रोजन ऊर्जाबारे नेपालमा पनि अनुसन्धान सुरु भएको छ ।

काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन ऊर्जाको नेपालमा प्रभावकारिताको बारेमा अध्ययन गरिरहेको विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । ‘विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन्’ विश्वविद्यालयले गरिरहेको अनुसन्धानबारे जानकारी दिन गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. थापाले भने, ‘यसलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भनेर अध्ययन/अनुसन्धान आवश्यक छ ।’ विश्वविद्यालयले सञ्चालनमा ल्याएको ल्याब नेपालको पहिलो हाइड्रोजन ल्याब हो ।

विश्वमा २२१ वर्ष पहिलेले नै हाइड्रोजनबाट ऊर्जा उत्पादन गर्न सकिन्छ भनेर अनुसन्धान भइसकेको थियो । सन् १८०० मा वैज्ञानिक विलियम निकोल्सन र सर एन्टोनी चार्लिस्लेले पानीबाट हाइड्रोजनको मात्रा निकालेर ऊर्जा उत्पादन गर्न सकिने बताएका थिए ।

पछिल्ला अध्यनयहरुले एक केजी हाइड्रोजन ऊर्जा ब्याट्रिको तुलनामा ४०० गुणा हल्का रहेको पत्ता लगाएका छन् । साथै एक केजी हाइड्रोजनले एउटा कार ७० किलोमिटरसम्म कुद्न सक्ने वैज्ञानिक अध्ययनबाट पत्ता लागेको छ ।

हाइड्रोजन ऊर्जाको नेपालमा सम्भावना बारे १६ वर्ष पहिले सन् २००५ देखि छलफल सुरु भएको थियो । तर काठमाडौं विश्वविद्यालयले एक वर्षअघि पहिलोपल्ट यसको खोजी गर्नको लागि हाइड्रोजन ल्याब सञ्चालनमा ल्याएको हो । हाइड्रोजनलाई ऊर्जाको रुपमा विकास गरेर सवारी सञ्चालन गर्ने काम अन्तिम चरणमा पुगिसकेको ल्याबका प्रमुख डा. विराजसिंह थापाले जानकारी दिए ।

डा. थापाका अनुसार अहिले नेपालको ४० प्रतिशत घरमा खाना पकाउने ग्यासको खपत हुने गरेको छ । सोही सिलिण्डरमा ग्रिन मिथेन राखेर खपत गर्न सकिने अवस्था छ । सबै गाडीलाई हाइड्रोजन ऊर्जाबाट चलाउन सोही अनुसारको इन्जिन आवश्यक पर्छ । तर नेपालमा वाषिर्क १३.५ मिलियन टन कार्बन उत्सर्जन हाइड्रोजन ऊर्जाको माध्यमबाट तत्कालै रोक्न सकिने उनको भनाइ छ ।

ग्रिन मिथेनलाई तत्कालै अहिलेको सिलिण्डरमा चलाउन सकिने भएकोले यसलाई पनि घरघरमा खाना पकाउने एलपी ग्याँसको विकल्पको रुपमा प्रयोग गर्न सकिने डा. थापा बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि