बैशाख १२, २०८१, बुधबार
               

नेप्से १०४.८८ अंकले बढ्यो

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । छोटो समयमा बेस्सरी घटेको बजार मंगलबारदेखि सुधारको लयमा फर्किएको छ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ । ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ वटै समूहको स्रूचक बढेका छन् । त्यसमध्ये विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएका छन् । बैंक तथा वित्तीय संस्थामा विस्तारै तरलता सहज हुँदै जाने संकेत देखिएपछि बजारमा सकारात्मक प्रभाव पर्न थालेको हो । दुई दर्जन कम्पनीमा ९% भन्दा माथि सर्किट लाइनसम्म वृद्धि भएको छ । 
 
यस्तै, केन्द्रीय बैंक बढाएको ब्याज घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका खबरहरु सार्वजनिक भएकाले पनि बजार सकारात्मक बन्न सहयोग पुगेको विश्लेषकहरु बताउँछन् । यस्तै, निरन्तर घटेको बजारमा सेयर भाउ निकै सस्तो भएको थियो । कतिपय कम्पनीको भाउ त करिब १ वर्षअघिकै अवस्थामा झरेको थियो । भाउ सस्तो भएकाले पनि लगानीकर्ताहरु आकर्षित भएको अनुमान गरिएको छ । 

यस्तै, अर्थमन्त्रीले आफ्नो बोलीका कारण सेयर बजार घटबढ हुन नहुने र बजार आफ्नै विधि र लयमा चल्नुपर्ने बताएकाले पनि लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । नेप्सेमा बुल रन सुरु भएयताकै ठूलो करेक्सनपछि बजार फेरि लयमा फर्किन सुरु गरेको हो । ११ सय विन्दुबाट बढ्न थालेको बजार विभिन्न सानातिना उतारचढाव हुँदै ३२ सय आसपासमा पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन सुरु भएको थियो ।

यो करेक्सन इन्ट्रा डे कारोबारमा २६१४ अंक आसपासम्म आएको थियो । त्यसपछि भने बजारले फेरि सकारात्मक लयम समाएको छ । अब पनि बजार उतारचढाव हुँदै माथिल्ला विन्दुहरुमा पुग्ने अनुमान गरिएको छ । यो लाभांशको सिजन हो । सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेका छन् । उनीहरुले अब लाभांश घोषणा गरेपछि साधारण सभा बोलाउनेछन् ।

सभाबाट पारित भएपछि लगानीकर्ताको खातामा लाभांश पठाउने कार्य सुरु हुनेछ । यसर्थ, लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छनोट गरेर लगानी गर्न सक्नुपर्छ । कम्पनीका महत्वपूर्ण सूचकहरु पनि ख्याल गर्नुपर्छ । यस दिन २३ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा नेसनल हाइड्रोपावर र आरएमडीसी लघुवित्त परेका छन् । 
 
 


कस्तो लाग्यो ?

यो पनि