मंसिर ०७, २०८१, शुक्रबार
               

चीनतर्फका नाका बन्द हुँदा चौंरी बिक्री भएन

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका - ७ याङमाका  कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चौंरी थिए। तर अहिले  उनीसँग चौंरीको संख्या ६४ पुगेको छ । शेर्पासँग चौंरीको संख्या बढ्नुको कारण चीनका नाका बन्द हुनु हो ।

कोरोनाका कारणले लामो समयदेखि हिमाली समुदायले पालन गरेको चौंरी बिक्री हुन सकेको छैन । बिक्री नहुदाँ हिमाली क्षेत्रमा चौंरीको संख्यामा वृद्धि हुँदै गएको छ। 

कोरोनाको काराणले दुई वर्षदेखि चीन तर्फको नाका बन्द भएसँगै याक चीनका बजारमा बिक्री नहुँदा चौंरीको संख्या बढ्दै गएको शेर्पाले बताए ।

उनले भने, ‘दुई वर्ष भयो चौंरी बिक्री भएको छैन, कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि चौंरीका बाछा र चौंरी बिक्री भएको छैन ।’ ताप्लेजुङको हिमाली क्षेत्रका स्थानीयले चौंरी गोठबाट जिविका चलाउँदै आएका छन् । 

फिन्चो शेर्पाको पनि गोठमा दुई वर्षदेखि चौंरी बिक्री नभएर २५ बाट बढेर ४० पुगेका छन् । समूद्र सतहदेखि तीन हजार ५ सय मिटर उचाईदेखि पाँच हजार सम्मको उचाइमा चौंरीको व्यावसायिकरूपमा पालन गरिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको फेदीमा चौंरी गोठहरू छन् ।

हिमाली समुदायको प्रमुख पुर्खोली पेशाको रुपमा रहेको चौंरी विगत देखिनै चीन  बजारमा बिक्री हुँदै आएको याङमाका स्थानीय टाँसी फिन्जो शेर्पाले बताए ।

कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आर्थिक तथा प्राविधिक सहयोगमा याङमा क्षेत्रमा  चार सय, ओलाचुङगोला क्षेत्रमा ४ सय ३५ र घुन्सा क्षेत्रमा  ३६ वटा गरी ८ सय ७१ वटा चौंरीको बीमासमेत गरेको कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए । 

चीनका विभिन्न  क्षेत्रमा नेपाली चौंरीका बाछा र चौंरीबाट उत्पादित छुर्पी, घ्यूका साथै पशुजन्य बस्तुहरू चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको  याङमाका स्थानीय सोनाम शेर्पाले बताए । 

चीनका बजारमा प्रतिचौंरी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । छुर्पी र घ्यू  प्रतिकिलो एक हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको याङमाका फिम्जो शेर्पाले बताए ।

कोरोनाका कारणले दुई वर्ष यता ताप्लेजुङको टिप्ताला नाका र संखुवासभाको किमाथाङका नाका बन्द हुदाँ हिमाली समुदायहरुको प्रमुख पेशाको रुपमा चौंरी बिक्री नहुँदा स्थानीयको नियमित आम्दानी घटेको मिक्वाखोला गाउँपालिका – ५ पापुङका चौंरी व्यावसायी रिङ शेर्पाले बताए ।

ताप्लेजुङमा ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका बाहेक सात गाउँपालिकामा चौंरी व्यावसायीक रुपमा पालन हुँदै आएको छ ।

चौंरीको प्रमुख बजार चीनका विभिन्न क्षेत्रहरूमा निर्यात हुने गर्दछ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समूदाय चौंरी पालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ गाउँपालिका - ६ घुन्साका स्थानीय पेमा शेर्पाले बताए । 


कस्तो लाग्यो ?

यो पनि