जेठ ०८, २०८१, मंगलबार
               

आँखा उपचार केन्द्रलाई जग्गा दान

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

चितवन । पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् ।

समाजसेवी  जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति संघको नाममा हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालय नजिकै रहेको सो जग्गाको प्रचलित मूल्य एक करोड ५० लाख रुपैयाँ गर्ने जनाइएको छ । लायन्स क्लब अफ चितवन इस्टको व्यवस्थापनमा सञ्चालन हुने गरी विसं २०६५ देखि पर्सामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको थियो ।

सो केन्द्र स्थापनाकालदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । बिरामीको चाप बढ्दै गएसँगै आँखाको शल्यक्रियासहित अतिरिक्त सेवा प्रदान गर्न सहज होस् भनेर जग्गा उपलब्ध गराइएको हो ।

क्लबका पूर्वअध्यक्ष एवं उपचार केन्द्रका अध्यक्ष केएन सिलवालका अनुसार सो जग्गा संघका नाममा मालपोत कार्यालय खैरहनीबाट रजिष्टेसन गरिएको छ ।  

उक्त जग्गामा आधुनिक भवन निर्माण गरी जनकबहादुर पाण्डे मेमोरियल आँखा उपचार केन्द्रको नामबाट सञ्चालन गर्नेगरी आवश्यक प्रक्रियासमेत अघि बढाइसकिएको उनले जानकारी दिए ।

लायन्स क्लबका पूर्वअध्यक्ष भीमबहादुर पाण्डेको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । पाण्डेले पहिलो तल्ला आफ्नै परिवारका नाममा बनाइदिने घोषणासमेत गरेको सिलवालले जानकारी दिए । 

भवन निर्माणपछि सो केन्द्रलाई शल्यक्रियासहित हुने गरी फेको सेन्टरका रुपमा विकास गर्ने तयारी गरिएको छ । सिलवालका अनुसार माथिल्ला तल्ला बनाउनका लागि पनि दाता इच्छुक देखिएकाले छलफल भइरहेको छ ।

केन्द्रमा हाल दैनिक ३५ हाराहारीले सेवा लिइरहेका छन् । बढी बिरामी भएका दिन यो सङ्ख्या ६५ पुग्ने गरेको उनले जानकारी दिए । संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल मुख्य रहेको छ भने सेकेन्डरी क्लिनिकका रुपमा ठोरी र कावासोतीमा शल्यक्रियासहितको सेवा दिइँदै आएको छ । 

त्यसैगरी केन्द्र माडी, पर्सा, रत्ननगर, चनौली र कुरिनटारमा सञ्चालनमा रहेको छ । अन्य जिल्लामा सिन्धुलीको दुधौली, धादिङको सल्यान्टरा, बाराको सिम्रनगढ, नवलपुरको हुप्सिकोट र चोरमारामा पनि केन्द्र रहेको छ ।

भरतपुरको उकालोमा सिटी क्लिनिक रहेको छ । यही १० गते धादिङको बेनिघाटमा केन्द्र सञ्चालनमा ल्याइँदै छ । अस्पतालले एक वर्षमा दुई लाख हाराहारी बिरामीलाई सेवा दिँदै आएको छ । यही अस्पतालको फेको सेन्टरका रुपमा पर्सालाई विकास गरिँदै छ । 


कस्तो लाग्यो ?

यो पनि