बैशाख १४, २०८१, शुक्रबार
               

नयाँ ब्याजदरले शेयर बजारमा नकारात्मक प्रभाव, ७६.६५ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

भदौ महिनाको अन्तिम दिन, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेपछि त्यसको नकारात्मक प्रभाव शेयर बजारमा परेको छ।

बजारसँग नकारात्मक सम्बन्ध रहेको ब्याजदर बढेपछि यस दिन नेप्से घट्न दबाब पुगेको हो। विगत केही दिनदेखि नै ब्याजदर बढ्ने हल्लाले बजार घट्दो क्रममा रहेको थियो। यस दिन पनि त्यसैको प्रभावले बजारमा सेलिङ्ग प्रेसर आएको जानकारहरु बताउँछन् ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशत अर्थात ७६.६५ अंक घटेर २८१२.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.७३ अंक, फ्लोट इण्डेक्स ५.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने केही बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ३५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२९ कम्पनीको १ लाख १३ हजार कारोबारमा ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको ४.०८ प्रतिशत घटेको छ। कारोबारमा आएको व्यापार, होटल तथा पर्यटन, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन साढे ३८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि