जेठ ०६, २०८१, आइतबार
               

नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो ।

यो रकम नेपालमा लगानी गरेका अन्य मुलुकको भन्दा धेरै बढी हो । नेपालमा लगानी गर्ने दोस्रो स्थानमा रहेको उत्तरी छिमेकी मुलुक चीनको भन्दा पनि दुई गुणाभन्दा बढी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । चीनबाट हालसम्म नेपालमा ३० अर्ब ९७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ ।

नेपालमा लगानी गर्नेमा भारत र चीनपछि सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ आएको छ । यसपछि आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँको विदेशी लगानी नेपाल भित्रिएको छ । यसपछि अस्ट्रेलियाबाट १० अर्ब ८२ करोड, संयुक्त अरब इमिरेट्सबाट ७ अर्ब १६ करोड र दक्षिण कोरियाबाट ७ अर्ब ९ करोड तथा अमेरिकाबाट ६ अर्ब ९ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा गरेको विदेशी लगानी सम्बन्धी सर्भेले यस्तो तथ्यांक देखाएको राष्ट्र बैंकले जानकारी गराएको छ । यस अवधिमा नेपालमा भित्रिने विदेशी लगानी ८.५ प्रतिशतले बढेको छ । उक्त वृद्धिसँगै नेपालमा हालसम्म भित्रिएको कुल विदेशी लगानीको आकार १ खर्ब ९८ अर्ब पुगेको छ ।

यस्तै, नेपाल भित्रिएको विदेशी लगानीमध्ये उत्पादन र खानी क्षेत्रमा सबैभन्दा धेरै ५६ अर्ब ७ करोड रुपैयाँ, विद्युत, ग्यास र पानी क्षेत्रमा ५४ अर्ब ६६ करोड रुपैयाँ र बैंक तथा वित्तीय क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ लगानी भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यसपछि, यातायात, भण्डारण र टेलिकम्युनिकेशन क्षेत्रमा ९ अर्ब ८४ करोड रुपैयाँ र अन्य क्षेत्रमा २३ अर्ब ६५ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

यस्तै, अहिलेसम्म भित्रिएको कुल १ खर्ब ९८ अर्ब रुपैयाँ विदेशी लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको छ । यसपछि गण्डकीमा ३० अर्ब, प्रदेश १ मा २५ अर्ब, प्रदेश २ मा १८ अर्ब, कर्णालीमा १ अर्ब र सुदूरपश्चिममा ४६ करोड रुपैयाँ मात्र विदेशी लगानी आएको छ ।

                           


कस्तो लाग्यो ?

यो पनि