जेठ ०६, २०८१, आइतबार
               

प्रधानसेनापति थापाको अद्यावधिक सम्पत्ति सार्वजनिक

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

लम्जुङ बेसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौं महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ ।

उनको  लम्जुङ बेसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौं महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४.५७ वर्गमिटर जग्गा तथा  छोरी रुरु थापाको नाममा बेसीशहर नपा–२ पैत्रिक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जगगा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र १४ लाख रुपैयाँमा खरिद गरिएकोसमेत औँठीसहित हीरा हार छ ।

उनिहरुसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा एक लाख ३५ हजार ७७२ रुपैयाँ, ग्लोबल आइएमई बैंकमा ९९ हजार ३३ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकमा २० लाख २२ हजार ३८१ रुपैयाँ र अमेरकी डलर ६ हजार ७० रहेको छ ।

प्रधानसेनापति थापा र दीपासँग तलब भत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब ४६ लाख रुपैयाँ मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनिहरूले  नेपाल बैंकबाट एक करोड ९० लाख रुपैयाँ ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन ३० लाख रुपैयाँ ऋण लिएकोमा १२ लाख २४ हजार रुपैयाँ तिर्न बाँकी रहेको देखाइएको छ ।

श्रीमती दीपाको २० लाख र छोरा रौनकको  ५१ लाख रुपैयाँ मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट ३५ लाख ३७ हजार ६२८ रुपैयाँ, नागरिक लगानी कोषबाट १४ लाख ६६ हजार ३१३ रुपैयाँ, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात २५ लाख ९० हजार ७३२ रुपैयाँ तथा आवास र बिमावापत चार लाख ९७ हजार २७४ रुपैयाँ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।

उनले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक छन् ।

तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । – रासस 

यो पनि