जेठ ०४, २०८१, शुक्रबार
               

न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजारले दिए आवेदन

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

लमजुङ मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते  सम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । 

उनका अनुसार यतिका सङ्ख्यामा परेको आवदेनबाट ६१ करोड १३ लाख ३ हजार ८०० बराबरको निवेदन रहेको छ । यीमध्ये आयोजना प्रभावित मर्स्याङ्दी गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार  ९५३ आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० र जिल्लावासीको लागि तोकिएको १० लाख कित्ता शेयरको लागि २२ हजार २३८ जना आवेदकबाट रु ४४ करोड ७५ लाख ८५ हजार ७०० बराबरको आवेदक माग रहेको आयोजनाले जनाएको छ ।

आयोजना अनुसार यी आवदेकको आधारमा ६१ लाख ६३० कित्ता माग भएको छ  । यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको १६ लाख ३७ हजार १८१ कित्ता र जिल्लावासीको ४४ लाख ७५ हजार ८५७ कित्ता रहेको छ । 

जिल्लावासीको लागि कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । आयोजना प्रमुख अमात्यका अनुसार अब अन्य सर्वसाधरणका लागि ७ देखि १० दिनभित्रमा शेयर खुल्ला गर्ने भएको छ । विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । विविध कारणले निर्माणमा ढिलाइ हुँदा समयमा काम सम्पन्न नभए पनि हाल आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । सो आयोजना ६ अर्बको लागतमा निर्माण सम्पन्न हुने जनाइएको छ । 

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साँढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि