बैशाख २३, २०८१, आइतबार
               

मालपोत कार्यालय बैतडीको राजश्व बढ्यो

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

मालपोत  कार्यालय बैतडीको राजश्व सङ्कलनमा वृद्धि भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ८३ लाख ३६ हजार ११० राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६१ लाख २६ हजार २७९ मात्र राजश्व सङ्कलन भएकामा गत वर्ष २२ लाख नौ हजार ८३१ ले बढी सङ्कलन भएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम भट्टले बताए । 

कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन शुल्कवापत ५३ लाख २७ हजार ४१३, पूँजीगत लाभकरवापत १३ लाख ४५ हजार ७४२, सेवाशुल्कबाट १६ लाख ५५ हजार ४०५, पूर्जा बिक्रीबाट रु एक हजार २५० र बेरुजु असुलीबाट छ हजार ३०० सङ्कलन भएको हो ।

जिल्लाका सबै स्थानीय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमिनको कारोबारमा वृद्धि भइरहेको छ । जमिन धितो राखेर बैंकबाट ऋण लिनेको सङ्ख्या बढेको छ । कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा भने तुलनात्मक रुपमा राजश्व सङ्कलन कमी आएको कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको गत आर्थिक वर्षको राजश्व सङ्कलनमा ५० प्रतिशतले घटेको छ । उद्योग दर्ताको सङ्ख्यामा बढेको भए पनि कार्यालयको गत आर्थिक वर्षको राजश्वमा आव २०७६/७७ को भन्दा आधाले घटेको हो । राजश्व घटे पनि उद्योगको सङ्ख्यामा भने आव २०७६/७७ को भन्दा गत वर्षमा आधाभन्दा बढीले वृद्धि भएको पाइएको छ ।

कार्यालयमा आव २०७६/७७ मा उद्योगतर्फको कूल राजश्व १६ लाख छ हजार २०० थियो भने गत वर्षमा घटेर आठ लाख ८० हजार ३५० मात्र सङ्कलन भएको छ । यस्तै वाणिज्यतर्फ पनि आव २०७६/७७ मा २० लाख १६ हजार ८०० छ भने गत वर्षमा घटेर नौ लाख ६५ हजार ५५० मात्र सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए । 

आव २०७६/७७ मा उद्योगतर्फ २५६ उद्योग दर्ता भएका थिए भने गत वर्ष बढेर ८४९ उद्योग दर्ता भएका छन् । यसैगरी वाणिज्यतर्फ आव २०७६/७७ मा ३३१ उद्योग दर्ता भएका थिए भने गत वर्षमा बढेर ६८० उद्योग दर्ता भएका छन् । गत आवमा सरकारले उद्योग दर्ता गरेर काम गर्ने महिला र पुरुषलाई राजश्वमा छुट गरेको कारणले गत वर्षमा राजश्वमा कमी आएको हो ।

गत आवदेखि एक लाखसम्म पूँजी भएको महिलाको नाममा उद्योग दर्ता भएमा दर्ता शुल्क ६०० लाग्छ भने पुरुषको नाममा दर्ता भएमा एक हजार १०० मात्र दर्ता शुल्क लाग्ने छ । यस्तै १० लाखदेखि ५० लाख पूँजी भएको उद्योग महिलाको नाममा दर्ता भएमा दुई हजार ६०० र पुरुषको नाममा दर्ता भएमा पाँच हजार १०० मात्र दर्ता शुल्क लाग्ने कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि