बैशाख २५, २०८१, मंगलबार
               

विद्युत् प्राधिकरणमा आज पदबहाली गर्दै कुलमान

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशकमा कुलमान घिसिङले आजै पदबहाली गर्दै छन् । 

मन्त्रिपरिषद् बैठकले सोमबार नै नियुक्ति गरे पनि आवश्यक कागजी प्रक्रिया र निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापनका कारण निर्णय सार्वजनिक गरिएको थिएन ।

कुलमानलाई चार वर्षको लागि कार्यकारी निर्देशकमा नियुक्ति गरिएको छ । निवर्तमान कार्यकारी निर्देशक शाक्यलाई विद्युत् प्राधिकरणको साबिकको सेवा सुविधा पाउने गरी जल तथा ऊर्जा आयोगमा लगिएको छ । शाक्यले आफू सम्मानजनक ठाउँमा जान लागेको भन्दै प्राधिकरणका उच्च पदाधिकारीहरूसँग मंगलबार बिदा मागेका थिए ।

शाक्यलाई खाइपाई आएको सुविधा उपलब्ध गराउन अर्थमन्त्रालयको सहमति आवश्यक भएको मुख्य सचिवको सुझावपछि निर्णय सार्वजनिक नगरिएको हो । शाक्यले अब मासिक तीन लाख रुपैयाँ बढी पारिश्रमिक पाउने छन् । 

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिसँगै सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणमा कुलमानको नियुक्ति प्रक्रिया अघि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए । यो सूचना प्रधानमन्त्रीको सचिवालयबाटै लिक गरिएको थियो । कुलमानको नियुक्तिको पक्षमा सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अग्रसरता देखाएका थिए । 

कुलमानको पुनर्नियुक्तिको चर्चासँगै सामाजिक सञ्जालहरूमा गठबन्धन सरकार र प्रधानमन्त्री देउवाको प्रशंसा भएको थियो ।

कुलमानले आफ्नो पहिलो कार्यकालमा मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य गरेपछि उनको सर्वत्र चर्चा र प्रशंसा भएको थियो । कुलमान नियुक्त हुँदा प्राधिकरणको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो । कुलमानले वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढी मुनाफामा पुर्‍याएर प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थानमा परिणत गरेका थिए ।

पछिल्लो एक वर्षमा प्राधिकरणको ११ अर्बभन्दा बढी नाफाको लक्ष्य भए पनि तीन अर्बमा सीमित हुने प्रक्षेपण छ । यसबीचमा विद्युत् चोरी र चुहावट उल्लेख्य रूपमा बढेको छ । कुलमानले आफ्नो पहिलो कार्यकालमा विद्युत् चुहावट नियन्त्रण २६ बाट १५ प्रतिशतमा झारेका थिए ।

यो पनि