जेठ ०४, २०८१, शुक्रबार
               

तेह्रथुम पावर कम्पनीले थप्यो आईपीओको आवेदन संकलन केन्द्र

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओको आवेदन संकलन केन्द्र थप गरेको छ ।

अब सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुमबाट पनि आवेदन दिन सकिने भएको छ । यसअघि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि