काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करिब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।
क्यापिटलका अनुसार उक्त आवेदनबाट रु एक करोड ३३ लाख ४७ हजार २२० कित्ता सेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
रु तीन करोड ८९ लाख बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता रु १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै सेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो सेयर एप (सफ्टवेयर) मार्फतसमेत आइपिओमा आवेदन दिन सक्नेछन् ।