बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ । गत असार १ गते संसदमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि गत असार १ गते संसद्मा प्रस्तुत गरेको बजेट माथि छलफलका लागि प्रदेश सभा बैठक आह्वान गरीएको हो ।
आज ३ बजे बस्ने प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले संसद्मा बजेटमाथि छलफल प्रारम्भ गरियोस् भनी सम्बोधन गरेलगत्तै बजेटमाथि छलफल प्रारम्भ हुनेछ । उनका अनुसार, प्रदेशसभा बैठक आगामी असार २१ गतेसम्म निरन्तर चल्ने बताए ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ गरी कुल कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।