बैशाख २२, २०८१, शनिबार
               

प्रदेश २ को विकास बजेट तीस प्रतिशतमात्र खर्च

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

प्रदेश २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पुँजीगत अर्थात विकास बजेट खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १९ अर्ब १९ करोड ८ लाख १८ हजार पुँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालु आर्थिक वर्षको ११ महिनामा सरकारले ५ अर्ब ६८ करोड ६५ लाख मात्र खर्च गर्न सकेको छ । यो कूल पुँजीगत खर्चको २९.८० प्रतिशत हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालय, जनकपुरधामका अनुसार नियमित अर्थात् चालु खर्चतर्फ सरकारले १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार बजेट विनियोजन गरेकोमा सो अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख मात्र खर्च भएको छ ।

यो कूल चालु खर्चको ३७.२५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए ।

कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयले विनियोजित बजेटको ४१.१४ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयले विनियोजित बजेटको चालूतर्फ ३५ करोड ६० लाख ८१ हजार र पुँजीगततर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार खर्च गरेको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो अवधिमा सबैभन्दा कम अर्थात् १३.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

सो अवधिमा चालूतर्फ ३४ करोड १० लाख ६१ हजार र पुँजीगततर्फ ११ करोड १४ लाख ८४ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै चालू आर्थिक वर्षको ११ महिनामा आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजित बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले सो अवधिमा चालूतर्फ ७ करोड ६ लाख ८६ हजार र पुँजीगततर्फ १ करोड ८० लाख १० हजार खर्च गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ ।

तीमध्ये चालूतर्फ ६६ करोड ४३ लाख ४८ हजार र पुँजीगततर्फ ४० करोड ५४ लाख ६० हजार गरी एक अर्ब ६ करोड ९८ लाख ९ हजार खर्च गरेको छ ।

यसैगरी चालू आर्थिक वर्षको ११ महिनामा सामाजिक विकास मन्त्रालयले चालूतर्फ एक अर्ब ५२ करोड २१ लाख र पुँजीगततर्फ ५८ करोड चार लाख एक हजार गरी दुई अर्ब आठ करोड २५ लाख खर्च गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि