काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली आज काठमाडौँ आएको छ ।
कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौँ आएको हो ।
सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनियरसहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग २८ अर्ब ५३ करोड रुपैयाँको लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने जनाइएको छ । कम्पनीको नेपालमा रहेको समूहले स्थान विशेषमा गई यसअघि नै सर्भेको काम सुरु गरिसकेको छ ।
सम्झौता भएको छ महिनाभित्र डिजाइन पूरा गर्ने गरी पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो । डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सेनाले द्रुतमार्गको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेज करिब २१ अर्ब तीन करोड रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटाछोटा दुई सुरुङ छन् ।
सम्झौतापत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायक रथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नं १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नं २ का परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम निर्माण कम्पनीलाई छ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ ।
आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ । त्यसपछि समानान्तररूपमा सबै कामले एकै चोटि गति लिने प्रवक्ता पौडेलले जानकारी दिए ।
एसियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्यरूपमा घट्ने छ । ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुतराजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायापलट ल्याउने अपेक्षा गरिएको छ ।