जेठ ०५, २०८१, शनिबार
               

धनगढी उपमहानगरको बजेट एक अर्ब ८१ करोड

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि एक अर्ब ८१ करोड २८ लाख २२ हजार रुपैयाँको बजेट सातौँ नगरसभामा पेस गरेको छ ।

आज धनगढीमा आयोजित उपमहानगरको सातौँ नगरसभामा उपप्रमुख सुशीला मिश्र भट्टले बजेट पेस गरेकी हुन् । जसमध्ये चालुतर्फ एक अर्ब दुई करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ ७८ करोड ४७ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

बजेट तथा कार्यक्रमले कोभिड– १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दिगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ ।

कृषितर्फ किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिट कार्यको व्यवस्था गर्ने, सामुदायिक वनमा जडीबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषि बजार मूल्य सूचना प्रणालीको व्यवस्था गरिने नीति लिएको छ ।

पर्यटन विकासतर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्र्याक निर्माण गर्ने, तालतलैयाहरूको विकास, संरक्षण तथा पर्यटन प्रवर्द्धन, भादगाउँ होमस्टेको प्रवर्द्धनलगायतका कार्यक्रम रहेका छन् । सामाजिक विकासतर्फ बालबालिका किशोर किशोरीसँग उपमेयर कार्यक्रम, मेयर, उपमेयर कल्याणकारी छात्रवृत्ति, उत्कृष्ट शिक्षक सम्मान, बाल विकास शिक्षक, सामुदायिक सिकाई केन्द्रका कर्मचारीलाई केन्द्रले तोकेको तलबमा अपुग रकम थप गर्ने नीति लिएको छ ।

त्यसैगरी, पूर्वाधार, स्वास्थ्य, सुशासन तथा संस्थागत विकास, कानुनी मामिला तथा न्यायिक निरूपण लगायतका क्षेत्रहरूलाई समेट्ने गरी नीति तर्जुमा गरेको छ ।

नगरप्रमुख नृपबहादुर वडले सीमित स्रोत साधनका बीच सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याएको जानकारी दिए । उनले समेट्न नसकेका विषय छलफलमार्फत समेटेर लैजाने बताए । उपप्रमुख भट्टले निकै मेहनतसाथ स्थानीय तहले अवलम्बन गर्ने सबै प्रक्रिया पुरा गरेर नगरवासीका मागलाई स्रोत साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको जनाए ।


कस्तो लाग्यो ?

यो पनि