जेठ ०८, २०८१, मंगलबार
               

झ्याप्रेखोला सिँचाइ आयोजनाको नहर निर्माण

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो ।

झ्याप्रेखोला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल कँडेलले दुई वर्षको अवधिमा ७१० मिटर पक्की नहर निर्माण सकिएको जानकारी दिए । चालु आर्थिक वर्ष २०७७–७८ मा कार्यालयको १४ लाख ४५ हजार रुपैयाँ अनुदान र उपभोक्ताको एक लाख ५३ हजार रुपैयाँ श्रमदानबाट २७० मिटर नहर निर्माण भएको छ ।

यसैगरी मुहान संरक्षणका लागि १५ थान ग्यावियन पर्खाल निर्माण भएको छ । ‘गत पुस महिनामा सम्झौता गरेर असारमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ’, अध्यक्ष कँडेलले भने, ‘हामीले वैशाखमै निर्माण सकेर अन्तिम किस्ताको भुक्तानीसमेत लिइसक्यौँ ।’

स्थानीय मजदुर परिचालन गरेर नहर निर्माण भएको थियो । गत आर्थिक वर्ष २०७६–७७ मा कार्यालयको २८ लाख रुपैयाँ अनुदान र उपभोक्ताको रु तीन लाख बराबरको श्रमदानमा ४८० मिटर नहर, मुहान र १० थान ग्यावियन पर्खाल निर्माण भएको थियो । अहिलेसम्म निर्माण भएको नहरबाट मौरेनीसम्म सिँचाइका लागि पानी चलाइएको छ । 

झ्याप्रे खोलामा मुहान भएको यो आयोजनाबाट १३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुग्ने खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका इञ्जीनियर बालकृष्ण बुढाथोकीले बताए । कुल दुई हजार ५०० मिटर नहर निर्माण भएपछि आयोजनाले पूर्णता पाउनेछ । 

आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको कार्यालय र उपभोक्ता समितिले जनाएका छन् । सिँचाइ सुविधा भएपछि खाद्यबालीका साथै सुन्तला, किबीलगायत फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी मदन सापकोटाले बताए । 

नहरबाट पानी चलाइएको ठाउँमा यसपालि मध्य जेठमै धान रोपाइँ सकिएको छ । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था थियो । 


कस्तो लाग्यो ?

यो पनि