जेठ ०८, २०८१, मंगलबार
               

निर्माण गुणस्तर कमसल गर्ने ठेकेदारलाई होला त कारवाही ?

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

नेपालमा सार्वजनिक क्षेत्रको निर्माण कमसल र गुणस्तरहीन गर्ने कम्पनीहरू धेरै छन् । सडक हुन् वा पुल-पुलेसा हुन् । कि भवन र नहर नै किन नहोस्, जताततै सेटिङमा स्तरीय काम नगर्ने प्रवृत्ति मौलाएको छ । तर कारवाही भएको उदाहरण भने कमैमात्र सुन्नमा आउँछ ।

कैलालीको घोडाघोडी नगरपालिका –१ मा निर्माण भइरहेको रिङरोड निर्माणमा पनि प्रश्न उठेको छ । सडकमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोगबारे जनस्तरबाट विरोध भइरहेको छ ।

निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रे माथि अलकत्रा र भुटेको बालुवा हालेर (स्यानसिल) गरेपछि विरोध भएको थियो ।

स्थानीयवासीको विरोध र विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि नगरपालिकाको टोलीले सडकको गरेको अनुगमनमा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्रे सडक बनाएको ठहर गरेको छ । नगरपालिकाले नारायणम रेखा जेबी निर्माण सेवालाई तोकिएको स्तरको सडक पुनः नबनाए कालो सूचिमा राख्न सिफारिसलगायत कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।

आज वडा १ का अध्यक्ष मानराज शाहीले विज्ञप्ति जारी गरी गल्ती गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

कमसल सामग्रीका कारण गिट्टीहरू चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइए पनि सडक निर्माण भइरहेको ठाउँमा कालोपत्रे नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको र खुट्टाले कोट्याए जमिन देखिने समस्या आएपछि पालिकाले अनुगमन गरेको हो ।

सडकको सब बेस र बेसको काम राम्रो रहे पनि कालोपत्रे गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठूलो गिट्टीको प्रयोग गरेको हुँदा यस्तो समस्या देखा परेको जनाइएको छ । त्यहाँ प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर भएको प्रारम्भिक अनुमान गरिएको र अलकत्राको क्वालिटी कमजोर भए–नभएकोबारे प्रमाणित गर्न धनगढी उपमहानगरपालिकाको ल्याबमा परीक्षणका लागि पठाउन लागिएको नगरपालिका इन्जिनियर सन्तोष चन्दले बताए ।

अहिले स्यानसिल गरे पनि अलकत्रा परीक्षण पश्चात् गुणस्तर कमजोर देखिए जुन हिसाबमा कालोपत्रे बिग्रिएको छ, त्यसमा माथिबाट यस किसिमको मर्मत नभई धेरै बिग्रिएको दुई सय मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरी कालोपत्रे गर्नुपर्ने अवस्था रहेको चन्द बताउँछन् ।

करिब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो चरणमा ३.५६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । सडक कालोपत्रे गर्न उक्त सेवाले एक करोड ५८ लाख ६० हजार रुपैयाँमा ठेक्कामा लिएको थियो ।

घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जनगुनासो आएपछि प्राविधिकको टोलीलाई अनुगमनमा पठाएको र प्राविधिकलाई सडक मापदण्ड अनुसार भए नभएको वास्तविक प्रतिवेदन बुझाउन आफूले भनेको जानकारी दिए । उनले सडक मापदण्ड विपरीत भए सुरुमा मापदण्ड अनुसार बनाउन पत्राचार गरिने र नमाने कानुनबमोजिम कारबाही गरिने बताए । 

स्थानीयले भने कमसल कालोपत्रे गर्नेलाई कारवाही होला त भनी प्रश्न उठाएका छन् ।

कमसल सडक निर्माण गरेको आरोप लागेका निर्माण सेवाका प्रबन्धक जनक शाहीले सडक मापदण्डअनुसार नै बनाएको जिकिर गरेका छन् । उनले काम गर्दा कमजोरी भए पनि बदमासी नभएको विरोधाभासपूर्ण तर्क गरेका छन् ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा निर्माण भइरहेको रिङरोड घोडाघोडी नगरपालिकाको महत्त्वपूर्ण योजनाको रूपमा हेरिएको सो सडक सुखडको भुखाली चौकबाट पिपलडाँडा, पूर्वी पेट्रोल पम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वालानगर हुँदै भुखाली चौकसम्म करिब १७ किलोमिटर रिङरोड निर्माण हुने योजना छ ।


कस्तो लाग्यो ?

यो पनि