जेठ ०३, २०८१, बिहीबार
               

कोरोना कहर : होटल बन्द गरेर साइकलमा तरकारीको भर

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

महेन्द्रनगर । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराबाट तीनवर्ष अगाडि सुर्जा केसी पतिसहित काम गर्न कञ्चनपुरको महेन्द्रनगर झर‍िन् । उनी यहाँको बसपार्कमा सानो होटल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । कोरोना जोखिमले गत वर्ष लकडाउन भयो । उनलाई जीवन गुजार्न समस्या भयो । 

उनी अहिले लकडाउनमा साइकलमा तरकारी बेचेर परिवारको छाक टार्दै छिन् । “भाडामा होटल सञ्चालनमा ल्याएको बर्ष दिनमा कोरोनाका कारण लकडाउन हुँदा व्यवसाय प्रभावित हुँदै परिवारमै खानपिनको जोहो गर्न सकस भयो ।” उनले भनिन् “दोस्रो लहरमा भोकै मर्नुभन्दा तरकारी बेचेर छोराछोरी पालौँ भनेर बजारका गल्ली चहार्दै छु ।”

स्थानीय प्रशासनले यहाँ दुई दिन तरकारी लगायत दैनिक उपभोग्य सामान किनबेचका लागि महेन्द्रनगर बजार खुलाउने गरेको छ भने साइकलमा घुम्ती तरकारी बेच्दा पनि प्रशासनले अनुमति दिएको छ ।

चार छोरा/छोरी र श्रीमान्सहित तराई महेन्द्रनगर पुगेकी केसीको सपना कोरोना कहरसँगै धरमराएको भान हुन्छ । “पोहोर साल लकडाउनमा दुई महिना घरको भाडा छुट भएको थियो” उनले भनिन्–“अहिले दिनभरि तरकारी बेच्यो भने पाँच सय रुपैयाँ जति मुनाफा हुन्छ, त्यही रकमले नुनतेल चलेको छ ।”

यहाँका नदीहरूमा गरिएको बगर खेती र व्यवसायी रूपमा गाउँबस्तीमा लगाइएको तरकारी खेतीबाट उनले दैनिक एक हजार पाँच सय देखि दुई हजारसम्म तरकारी खरिद गरेर महेन्द्रनगर बजार, जानकी टोल, कटानलगायतका क्षेत्रमा बिक्री वितरण गर्दै आएकी छिन् ।

पश्चिमीनाका गड्डाचौकी हुँदा भारत ओहोरदोहोर गर्नेहरू यहाँको बसपार्क क्षेत्रका होटलहरूमा बस्ने गरेकाले होटल व्यवसाय चल्ने गरेको थियो ।

“होटलमा बसोबास निःशुल्क र खानाको मात्रै पैसा लिएर सञ्चालन गरेका थियौँ ।” उनले भनिन्–“अहिले लकडाउनमा होटल बन्द भएपछि साना होटल व्यवसायी तरकारी व्यापार, खसीबोकाको कारोबार र फलफूल बिक्रीमा लागेका छन् ।”

उनले होटल भाडामा लिएको मासिक सात हजार रुपैयाँ तिर्न सकस भइरहेको बताइन् । “श्रीमान् अटो चलाएर दुई चार पैसा कमाउनुहुन्थ्यो, त्यो पनि बन्द भयो ।” उनन भनिन्–“कोरोनाका त्रासदीबीच म भने स्वास्थ्य सुरक्षा अपनाउँदै तरकारी बिक्रीमा होमिएकी छु ।” उनले प्रचण्ड गर्मी र कोरोनाको त्रासमा आफू साइकलमा तरकारी बिक्रीका लागि गल्ली चहार्नु आफ्नो बाध्यता रहेको सुनाइन् ।

केसी त समाचारका लागि एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ती साना होटल व्यवसाय गरेर जीविका चलाइरहेका यहाँका धेरै व्यवसायी विस्थापनको सङ्घारमा छन्, । ठूला होटल व्यवसायी लाखौँ आर्थिक क्षति सहन बाध्य भएको बताइरहेका छन् ।

होटल व्यवसायी संघ कञ्चनपुरका उपाध्यक्ष सुशील भट्टले कोरोना कहरले होटल व्यवसाय क्षेत्र तहसनहस भएको बताए । “साना होटल व्यवसायीहरू ठेलामा तरकारी व्यापार गर्न थालेका छन् ।” उनले भने–“ठूला होटल व्यवसायी पनि ऋण र लगानीका दृष्टिकोणले धेरै समस्यामा छन् ।”

उनले होटल व्यवसायमा मजदुर कटौती गर्दै लैजानुपर्ने अवस्था आएको बताए । “कोरोनाले धरासायी बनेको होटल व्यवसायलाई सरकारले पनि सहुलियत दिनुपर्छ” उनले आफ्नो पेशागत माग सुनाए- “धेरै त घर भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।”


कस्तो लाग्यो ?

यो पनि