बैशाख १९, २०८१, बुधबार
               

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

बागलुङ । कोरोना संक्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन् । नेपाल बैंक लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ ।

सदरमुकाममा २८ वाणिज्य–विकास बैंक र दर्जन बढी बीमा कम्पनी सेवारत छन् । न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बैंकर्स एशोसिएसन र वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलपछि आलोपालो र समयको निर्धारण गरेको हो । प्रभु बैंकले भने सरकारी कार्यालयसँग समन्वय गरी आवश्यकताअनुसार राजश्व काउण्टर सञ्चालन गर्ने जनाइएको छ ।

सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने हुँदा आलोपालो गरेर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सबै बैंकहरूलाई आग्रह गरेको छ ।

बागलुङ नगरपालिकामा मङ्गलबारदेखि दश दिनसम्मलाई निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले खाद्यन्न, तरकारी, फलफूल, दूध, मासुलगायत दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । अन्य पसल, व्यवसाय बन्द छन् । अत्यावश्यकबाहेकका सवारीसाधन पनि ठप्प छन् ।

कोरोना संक्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि निषेधाज्ञालाई थप कडा तुल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले सवारी अनुमति पत्र पनि वितरण नगर्ने निर्णय गरेको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २०० नाघेको छ । अधिकांश संक्रमित होम आइसोलेशनमै रहेपनि गम्भीर लक्षण लिएर अस्पताल पुग्ने संक्रमितको सङ्ख्या पनि दैनिक बढ्दो छ । 


कस्तो लाग्यो ?

यो पनि