काठमाडौं । निजी क्षेत्रको अग्रणी नबिल बैंकको 'हिरोज् अफ नेपाल'को दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित भएका छन् ।
नबिल बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएको भन्दै शाहलाई ‘हिरोज् अफ नेपाल’बाट सम्मानित गरेको हो ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच सेफ शाह लाई सम्मान गरिएको हो । विश्वमा नेपाल र नेपालीको शिर उँचो राख्न योगदान दिएकाहरूमध्ये एक जनालाई हरेक वर्ष नबिल बैंकले सम्मान दिँदै आएको छ ।
सम्मानित शाहले बेलायतको मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्व सामु चिनाएका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अनिलकेशरी शाह, सम्मानित सन्तोष शाह र अनुष्का श्रेष्ठबीच छलफल भएको थियो । छलफलमा शाहले आफ्नो यात्राका चुनौती र प्रेरणादायक क्षणहरूबारे जानकारी गराएका थिए ।
नबिल बैंकका प्रमुख कार्यकारी शाहले नेपालीको शान र मान राख्न थप हौसला पुगोस् भनेर सम्मानित गरेको जानकारी दिए । बैंकले सेफ शाहको गृहनगरमा इ–पुस्तकालय निर्माण तथा पाँच महिला विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि नबिल बैंकको हिरो अफ नेपाल सिरिज निर्मल पुर्जा भएका थिए । पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनले प्रोत्साहनस्वरुप ७ लाख रुपैयाँ पाएका थिए ।