जेठ ०७, २०८१, सोमबार
               

मेलम्चीको पानी आज काठमाडौं आउँदै

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । लामो समयदेखि आम नागरिकले आशा र भरोसा गरिरहेको मेलम्चीको पानी आज काठमाडौं आउने भएको छ । आयोजना निर्माण थालिएको करिव दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आउने भएको हो ।

​२६ किलोमिटर लामो सुरुङमा गत फागुन १० गते हुलिएको पानी सुन्दरीजलको अवलोकनमा प्रधानमन्त्री केपी शर्मा ओली नै जाने बताइएको छ ‌। २०५१ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने’ भन्दै वाचा गरेका थिए । सोही वाचा आज पुरा हुने स्रोतले जनाएको छ । 

वि.सं २०५८–५९ देखि आयोजना निर्माण थालिए पनि निरन्तर ढिलाई र भ्रष्टाचार गर्दै काठमाडौं उपत्यकाका नागरिकलाई आशाको अंकुशमा उनिरहेको राज्यसंयन्त्रले बल्लतल्ल, झण्डै दुई दशकपछि काठमाडौंमा पानी झार्न लागेको हो ।

सिन्धुपाल्चोकबाट सुरुङमार्फत पठाइएको पानी झार्न तयार पारिएको स्थान सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइएको छ । यहाँ २६ किलोमिटर लामो सुरुङमा सिन्धुपाल्चोकबाट हुलिएको पानी झर्ने छ । 

सुरुङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ । परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

​सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउने छन् ‌।​


कस्तो लाग्यो ?

यो पनि