जेठ ०७, २०८१, सोमबार
               

म्याग्दीमा प्रथम चौँरी महोत्सव सुरु

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव ६ दिनसम्म सञ्चालन हुने जनाइएको छ । 

चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए ।

‘पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौँरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ’, उनले भने, ‘कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा छ ।’

महोत्सवमा कृषक र विज्ञहरुबीच चौँरीको महत्व, समस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौँरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ । 

महोत्सवमा आउने पाहुनालाई चौँरी देखाउने र यसको महत्वका विषयमा बुझाइने कार्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताए । ‘म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौँरीपालन हुन्छ’, उनले भने, ‘परम्परागत चौँरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको हो ।’

दश हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौँरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको थियो । स्थानीय मगर संस्कृतिमा आधारित पुख्यौली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हुन् । 

पाउद्वार र शिखका तीन वटा फार्मले ४०० भन्दा बढी चौँरी पालेका छन् । सामाजिक अभियानकर्मी डा. महावीर पुनको अगुवाइमा पाउद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन विसं २०५८ देखि खोपारा क्षेत्रमा व्यावसायिक चौँरीपालन गरिएको स्थानीयवासी भीम तिलिजाले बताए ।  

खोपारा, खयर, बयली, डाडखर्कलगायत बराह शिखर हिमालको फेदीका बुकीमा चौँरीपालन गरिएको छ । प्राकृतिक हिसाबले सुन्दर त्यस क्षेत्रमा पालिएका चौँरी र भेडीगोठले पर्यटकलाई आकर्षित गराएको गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरले बताइन् ।  

राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले अनुकूल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौँरी स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको बताए ।

‘चौँरीको नश्ल, गोठ सुधार, व्यावसायिक उत्पादन, उत्पादनको विविधीकरण र बजारीकरणमा सघाउने कार्यक्रम बनाएका छौँ’, उनले भने, ‘‘यहाँ पालिएका चौँरीलाई देशका अन्य ठाउँमा पनि नश्ल सुधारका लागि लैजान सकिन्छ ।’ यस वर्ष स्रोत केन्द्र सञ्चालनको लागि ९ लाख ३५ हजार रुपैयाँ विनियोजन भएको छ । 

तीन वटा याक खरिद गरेर समितिलाई उपलब्ध गराइसकिएको छ । आन्तरिक र बाह्य परजीवी विरुद्धको खोप, गोठ सुधार, खानेपानी, खर्क सुधार र गोठालाका लागि आवश्यक सामग्री सहयोग गरिने पशु विकास अधिकृत बासुदेव नाथले बताए । चितुवाको आक्रमण, चरन क्षेत्रको अभाव र रोगको महामारी चौँरीपालनका लागि चुनौती भएको कृषक प्रेम पुर्जाले बताए ।  


कस्तो लाग्यो ?

यो पनि