वालिङ । बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन सुरु गरिएको छ ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिकरुपमा दुनाटपरी उत्पादन सुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
‘वालिङ–८ छेउडाँडामा रहेको ‘छेउडाँडा शिल्पकला समूह’ लाई दुनाटपरी बनाउने तालीम तथा मेशिन हस्तान्तरण गरेका छौँ’, उनले भने, ‘मेसिनको प्रयोगले छोटो समयमै धेरै दुनाटपरी बनाउन सकिने भएको छ ।’
प्लाष्टिकजन्य वस्तुको प्रयोगका कारण परम्परादेखि चल्दै आएको दुनाटपरी हराउँदै गएकाले यसको प्रयोग र संरक्षणमा जोड दिने गरी दुनाटपरी उद्योग स्थापना गरी व्यावसायिक उत्पादन थालिएको उनले बताए ।
‘हाम्रो समाजमा विवाह, व्रतबन्ध र पूजाआजामा दुनाटपरीको प्रयोग गर्ने गरिन्थ्यो’, उनले भने, ‘पछिल्लो समय यसको प्रयोग हराउँदै गएको छ, यसलाई पुनः प्रयोग गर्न सकेमा जङ्गलमा त्यसै खेर गइरहेका पातबाट लाखौँ आम्दानी गर्न सकिन्छ ।’ कोभिड–१९ को प्रभावका कारण धेरैको रोजगारी गुमेका बेला यहाँ उत्पादन भएका दुनाटपरीको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए ।
स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी सामूहिकरुपमा सीप सिकेर उद्योग स्थापनासँगै दुनाटपरी उत्पादन थालिएको स्थानीय गीता रनपालले बताइन् । सामूहिकरुपमा व्यवसाय थाल्दा काम गर्न पनि सहज र आम्दानी पनि लिन सकिने भएकाले यहाँका महिला दिदीबहिनीको आर्थिकस्तर उकास्नमा सघाउ पुग्ने भनाइ रनपालको छ । ‘जन्म, मृत्यु तथा अन्य शुभ कार्यमा प्रयोग गरिने दुनाटपरी बनाउने सीपलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा विस्तार गर्ने उद्देश्य हाम्रो छ’, रनपालले भनिन्, ‘तालीमपश्चात उद्योग स्थापना भएकाले यहाँका महिला दिदीबहिनी व्यावसायिक उत्पादनका लागि उत्साहित र आकर्षित हुनुभएको छ ।’
पछिल्लो समय परम्परागत दुनाटपरीलाई प्लाष्टिकजन्य वस्तुले विस्थापित गर्दै गइहेका बेला प्रविधिको प्रयोगका कारण निकै प्रभावकारी देखिएको छ । मेसिनको प्रयोगबाट छोटो समयमा धेरै दुनाटपरी बनाउन सकिने हुँदा यसलाई व्यावसायीकरण गरी यहाँका स्थानीयको जीवनस्तरमाथि उकास्न सकिने स्थानीय रनपालको भनाइ थियो । साना साना पात भए सिन्काले जोड्ने र मेसिनमा राखेपछि टपरीको आकार दिने र विभिन्न प्रकारका दुनाटपरी बनाउन सकिने भएकाले समयको वचतसँगै वातावरणीय प्रदूषणलाई समेत कम गर्ने उनले बताइन् । यहाँका ३० महिलाले सामूहिकरुपमा दुनाटपरी उत्पादनमा सक्रिय सहभागिता जनाएका छन् ।