बैशाख १५, २०८१, शनिबार
               

हिमपातले जुफाल विमानस्थल बन्द

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

डोल्पा । डोल्पामा भारी हिमपात भएको छ । बिहीबार रातिबाटै वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू-भाग ढाकेको छ । हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलोपटक ठूलो हिमपात भएको हो ।

माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन् । पानी र हिउँ परेपछि केही राहात मिलेको स्थानीय कृषक बताउँछन् ।

धूलो, हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाबासी हिमपातसँगै रमाएका छन् । हिउँदको समयमा हिउँ धेरै परेमा वैशाखदेखि बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रशस्त हुने स्थानीय प्रेमबहादुर लामाले बताए ।

जिल्लाको करिब ९० प्रतिशत भू-भाग हिउँले ढाकेपनि समुन्द्र सतहबाट करिब २५ मिटर तलको भू-भागमा भने हिउँ जम्न सकेको छैन । सदरमुकाम दुनै, त्रिपूराकोट, त्रिबेणिलगायतका क्षेत्रमा भने हिउँ जम्न सकेको छैन ।

हिउँदे सिजनको अन्तिमतिर हिउँ परेर तल्लो डोल्पाका स्थानीय उत्साहित भए पनि माथिल्लो डोल्पाका नागरिक भने हिमपातले नाकाबन्दी गरेको छ । करिब ५६ सय मिटर अग्ला पहाडले घेरिएको क्षेत्रमा बस्ती भएको माथिल्लो डोल्पामा भने हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

हिमपात भएसँगै माथिल्लो डोल्पामा स्थानीय घर बाहिर जान कठिन भएको स्थानीय सोनाम फुन्जो गुरुङले जानकारी दिए । हिमपातका कारण जुफाल बिमानस्थलमा उडान नहुँदा यात्रु बिमानस्थलमै थन्किएका छन् भने पैदल यात्रु प्रभावित भएका छन् । डोल्पाको तामक्रम माइनस १० भन्दामाथि पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि