जेठ ०२, २०८१, बुधबार
               

देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

चितवन । कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताए । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो ।

इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ । चित्रकारले भने, ‘४० प्रतिशत उद्योग अहिले पनि बन्द छन्, चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’ उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उनले गुनासो गरे ।
 
इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्यांकलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् ।

चित्रकारले भने, ‘यस क्षेत्रका तीन लाखमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।’ उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ ।

भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उनले बताए । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्को बाध्यता रहेको चित्रकारले बताए ।

महासंघका प्रथम उपाध्यक्ष नारायण सापकोटाले बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताए । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए । ‘कोरोनाका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन्’, उनले भने । नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने संघको तथ्यांक छ ।

देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उनले भने, ‘जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योग छन् ।’

उद्योग सञ्चालन गर्न दुई करोड रुपैयाँदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउनुहुन्छ ।
 
पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ । कोरोनाले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् ।

चितवनको खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डितले जिल्लाका १८ उद्योगमध्ये दुई वटा मात्रै जेनतेन सञ्चालनमा आएको बताए । उनले चैत ११ गतेयता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गरे ।

उद्योग पूर्णरूपमा नोक्सानमा गएको भन्दै उनले मजदुरका समस्या समाधान र पुनःसञ्चालनको लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताए । पण्डितले भने, ‘सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय संकटमा पर्छ ।’

स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यातसमेत गर्न सकिने बताए । विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उनले स्मरण गराए ।

नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो ।

महासंघले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्यांकलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् । 


कस्तो लाग्यो ?

यो पनि