जेठ ०२, २०८१, बुधबार
               

डिजेल र पेट्रोलको मूल्य बढ्यो

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । 

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल–मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ । 

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ४.३४, डिजेलमा प्रतिलिटर २.९६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ घाटा रहेको निगमले जनाएको छ । अर्धवार्षिकरुपमा निगमलाई ४९.८८ करोड रुपैयाँ घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

हालको मूल्य समायोजनपश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेल प्रतिलिटर ३७.६४ रुपैयाँले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ ।

निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५–१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ । निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ कायम गरेको थियो । 

इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्य अनुसार मिति गत मङ्सिर २८ मा पेट्रोल तथा डिजेल–मट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः एक र दुई रुपैयाँले वृद्धि गरी पेट्रोलको प्रतिलिटर १०८ रुपैयाँ र डिजेल–मट्टितेलको प्रतिलिटर ९१ रुपैयाँ कायम गरेको थियो ।

त्यसपछि आइओसीबाट १६ डिसेम्बर २०२० र १ जनवरी २०२१ मा प्राप्त खरीद मूल्यमा बढेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार सो मितिमा मूल्य वृद्धि गर्नुपर्ने देखिएको भए तापनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ ।

हाल १६ जनवरी २०२१ मा प्राप्त मूल्यअनुसार १ डिसेम्बर २०२० को तुलनामा मूल्यवृद्धि नगर्दा निगमलाई अर्धवार्षिक ६७.५५ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि