बैशाख १७, २०८१, सोमबार
               

गौतमबुद्ध विमानस्थलका लागि थप १८ अर्ब ऋण सम्झौता

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  निर्माणको अन्तिम  चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपैयाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ । 

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर भयो । दक्षिण एसियाली उपक्षेत्रीय सहकार्य (सासेक)अन्तर्गतको विमानस्थल क्षमता अभिवृद्धि परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने सम्झौतामा उल्लेख छ। सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीको नेपालका लागि आवासीय इन्चार्ज रुडी लुई हेन्ड्रिकुस भान डेलले हस्ताक्षर गरे ।

एडीबीले उपलब्ध गराउने उक्त ऋण उक्त विमानस्थलको दोस्रो चरणको विस्तारको डिजाइन र टर्मिनल भवन निर्माणमा उपयोग हुने सम्झौता छ । त्यस्तै, ट्याक्सी वे विस्तार, एप्रोन निर्माणका लागिसमेत ऋण उपलब्ध गराएको एडीबीले जनाएको छ ।

एडीबीले यसअघि नै विमानस्थलको पहिलो चरणको कामका लागि करिब साढे दुई अर्ब ऋण उपलब्ध गराइसकेको छ । विमानस्थल निर्माणको अहिलेसम्म करिब ९३ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ ।

यस्तै बाढी जोखिम व्यवस्थापनका लागि एडीबीले करिब पौने अर्ब सहुलियतपूर्ण ऋण (चार करोड डलर) र करिब सवा अर्ब (एक करोड डलर) अनुदान पनि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि