जेठ ०६, २०८१, आइतबार
               

१० लाखसम्मका योजना टोल विकास संस्थालाई

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने निर्णय गरेको छ ।

स्थानीयवासीको अपनत्व सिर्जना गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को शुरुमा प्रत्येक वडामा संस्था गठन गरेको थियो ।  

टोल क्षेत्रको विकास र समृद्धिका लागि गाउँपालिकाले अहिले सोही संस्थालाई उपभोक्ता समितिको मान्यता दिई योजना कार्यान्वयन गर्दै आएको छ ।  

विकास निर्माणका काम गर्नलाई गठन भएका उपभोक्ता समिति विनाअनुमतिपत्रका ठेकेदार बनेको तथा योजना सञ्चालनप्रति जवाफदेही र उत्तरदायी बन्न नसकेको आरोप लाग्न थालेपछि  संस्था गठन गरिएको गाउँपालिकाले जनाएको छ ।  

टोल क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय समुदायकै अपनत्व सिर्जना गर्न टोल विकास संस्थालाई उक्त जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए । 

अधिकार र दायित्व दुवै जिम्मेवारी बोकेको टोल विकास संस्थामार्फत काम गर्दा उपभोक्ताको हितमा हुने निष्कर्षसहित संस्थालाई उपभोक्ता समितिको मान्यता दिइएको उनले जानकारी दिए।

गाउँपालिकाले संस्था गठन तथा परिचालनसम्बन्धी कार्यविधि नै बनाएर प्रत्येक वडामा संस्था गठन गरेको छ । सकेसम्म सर्वसहमति र सहमति नभए निर्वाचनको प्रक्रिया अपनाएर संस्था गठन गर्ने कार्यविधिमा उल्लेख छ ।  

गठित समितिलाई उपभोक्ता समितिको हैसियत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । सिरिजङ्घाका आठ वडामा ७२ वटा टोल विकास संस्था निर्माण भएको छ । 

सोही संस्थामार्फत १० लाखसम्म बजेट भएका योजना धमाधम कार्यान्वयन भइरहेको उनले बताए । दलीय, जातीय, भाषिक, वर्गीय, क्षेत्रीय र लैङ्गिकताको प्रतिनिधित्व भएको संस्था भएकाले उपभोक्ता समितिको मान्यता दिन पनि सहज भएको गाउँपालिकाले जनाएको छ । 

संस्थाको खाता सञ्चालन पद्धतिदेखि लेखा 

व्यवस्थापनसम्मका काममा गाउँपालिका आफैँले नियमित नियमन र अनुगमन गर्नुपर्ने जनाइएको छ । संस्थामार्फत योजना कार्यान्वयन गर्दा वित्तीय तथा भौतिक सबै प्रगति पारदर्शी हुने पनि गाउँपालिकाको विश्वास लिएको छ । 

यो पनि