बैशाख २१, २०८१, शुक्रबार
               

सन् २०२२ सम्ममा नेपालमा पर्यटक ह्वात्तै बढ्ने : योगेश भट्टराई

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका–५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उनले एक वर्षपछि विगतका वर्षभन्दा बढी पर्यटक नेपालमा आउने बताएका हुन् । 

    मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने –“सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युँतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उनले थपे, “यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।” 

नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको र कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने उनले बताए । 

तत्कालै अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको र पर्यटकीय गन्तव्य, होटललगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिए पनि अब पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो । 

    सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताए । उनले भने, “विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था आएको छ ।” श्रम बजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमा नै सम्भावनाको खोजी गर्नु आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिए ।

 


कस्तो लाग्यो ?

यो पनि