मंसिर ०७, २०८१, शुक्रबार
               

जन्म र मृत्युमा दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

खलङ्गा । जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ । 

हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० किलो चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका–१ धनराज रावतले बताए ।

गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका आठवटै स्थानीय तहबाट ११४ जनालाई र मृत्यु भएका ४२ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले बताए ।

आव २०७६–७७ मा जन्म भएको अवसरमा प्रदान गरिने चामल १०१ जनालाई र मृत्यु भएका ६ जनालाई चामल वितरण गरेको शाखा प्रमुख सुनारले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखा कार्यालयबाट मृत्यु र जन्मका अवसरमा गत आवामा ३३८ र यो आव १०७ जनालाई  तीन लाख ९८ हजार ३६० रुपैयाँ रकम वितरण गरीएको छ ।

उक्त चामल ढुवानीका लागि एक लाख ५८ हजार ८ सय रकम दिएको शाखा प्रमुख सुनारले बताए । सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई ५०० रुपैयाँ दिइएको छ भने तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि