काठमाडौं । बहराइनका राजपरिवारको टोली हिमाल आरोहणका लागि आज सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा उत्रेका छन् । बहराइनका राजकुमार सेख नासिर विन हमाद अल खलिफा नेतृत्वको १८ जनाको टोली आज लुक्ला अवतरण गरेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा २ का अध्यक्ष आङफूर्वा शेर्पाले बताए ।
टोली लबुचे पिक आरोहणका लागि त्यता पुगेका टोलीलाई विमानस्थलमा गाउँपालिकाले स्वागत गरेको थियो । उनीहरुलाई सेभेन समिट ट्रेक्सले आरोहणमा साथ दिने जनाएको छ ।
कोभिड-१९ संक्रमण रोकथाममा लागि लगाएको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र लगभग ठप्प रहेको बेला पहिलोपटक भदौ ३१ गते बहराइनका राजपरिवारको टोली काठमाडौं आइपुगेका थिए ।
राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार खलिफाको टोली चार्टड् फ्लाइटबाट विमानस्थल उत्रेका थिए ।
भदौ दोस्रो साता सरकारले बहराइनका राजकुमारलाई हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको थियो ।स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरिएको थियो ।
राजकुमार सेख नासिर विन हमाद अल खलिफाको नेतृत्वको टोलीले अर्को वर्ष सगरमाथाको आरोहण गर्नेछन् ।
यस वर्ष नेपालका ८ हजार उचाईका हिमालको आरोहण गरी सगरमाथा आरोहणको तयारी गर्ने छन् । यस वर्ष दुई चरणमा सगरमाथा आरोहणको तालिम हुने छ। जसमध्ये मनास्लु र सगरमाथा नजिकको लोबुचे इस्टको आरोहण गर्ने छन् ।
बहाराइनको राज परिवारले यससम्बन्धी घोषणा गत अप्रिलमा नै गरेको थियो । अगस्टमा नै सगरमाथा आरोहण गर्ने टोलीलाई त्यहाँको रोयल गार्डको सर्भिसमेन झण्डा हस्तान्तरण गरिएको थियो ।
सगरमाथा आरोहणका लागि राजकुमारले नै टोलीको छनोट गरेका थिए । बहराइनका राजा हमाद विन इसा खलिफाका चौथो सन्तान सेख नासेर गल्फ राष्ट्रहरुको ओलम्पिक कमिटीका अध्यक्षसमेत हुन् ।
बहराइन गल्फ क्षेत्रको नेपालको महत्त्वपूर्ण साझेदार कम्पनी हो । उक्त टोलीमा राजकुमारसहित बहराइनको रोयल गार्डका १५ सदस्य सहभागी हुँदै छन् । उनीहरुलाई ५० जना शेर्पाले साथ दिनेछन् ।