जेठ ०८, २०८१, मंगलबार
               

बिचौलियाको मारमा केरा किसान

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

चितवन । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन रुपैयाँको हाराहारीमा बिक्री गर्छिन् । तर, स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० रुपैयाँ सम्ममा किन्ने गरेकी छन् ।

उनि मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरिन्, ‘बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।’ आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यही अनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ ।

भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उनको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी केरा बिक्रीयोग्य भएको छ । आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा रु तीनमा उठाउने गरेको उनले बताइन् । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उनको भनाइ छ ।

पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उनले दुखेसो पोखिन् । जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदीले पनि बिचौलियाको मारमा परेको गुनासो गरे ।

बारीबाट प्रतिकोसा तीनदेखि चार रुपैयाँमा बिक्री गरेको केरा उपभोक्ताले ८ रुपैयाँसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जिल्लाभरमा उनको मात्र ७५ बिघामा केराखेती लगाइएको छ । भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उनले बताए ।

उनले भने ‘मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।’ आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता यहाँ धेरै केराखेती गर्ने कृषकका रूपमा परिचित छन् ।

चितवन केरा उत्पादक संघका अध्यक्ष घानाथ महतोले केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बर भन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा सुनाए । ‘जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ, कसले सुनिदिने’, उनले भने, ‘दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।’

जिल्लामा केराखेती गर्ने कृषकको सङ्ख्या ७०० रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ । उनका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ ।

एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ । अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु बढेको महतोको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि