मंसिर ०१, २०८१, शनिबार
               

मिस्ट्री खोलाको साधारण शेयर निष्कासन

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आइपिओ) निष्कासन भएको छ । ४२ मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एकै पटक १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन भएको हो । दुईवटै आयोजनाको प्रवन्धक माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता शेयर खरिद गर्न पाउने माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले जानकारी दिए-“गत साउन ८ गतेदेखि सेयर निष्कासन गर्ने भनिएकामा बाढीपहिराेका कारण सर्वसाधारणलाई बैंकमा जान आउन समस्या भएपछि स्थगित भएको थियो”, उनले भने, “भदौ ३१ गतेदेखि निस्कासन भएको शेयर छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म बन्द हुनेछ ।” 

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर कूल लागतको १० प्रतिशत शेयर निस्कासन गरेको हो । मिस्ट्री खोला निर्माण स्थल नारच्याङ र तादी खोला (थप्रेक) जलविद्युत् आयोजना प्रभावित तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका बासिन्दाका लागि चालीस र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ६० प्रतिशत शेयर निस्काशन गरेको हो । 

कूल १९ करोड ६८ लाख दुई हजार ७०० मूल्य बराबरको शेयर निष्काशन भएको छ । नारच्याङ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । 

मिस्ट्री खोलाको ९८ प्रतिशत निर्माण सकिएको आयोजनाको परामर्शदाता इन्जिनीयर दिवाकर खड्काले बताए-“बाँध र पेनस्टकको काम सकिएको छ,” उनले भने, “विद्युत् गृहमा जडान भएका उपकरणको परीक्षण र टनेलको बाँकी काम अन्तिम चरणमा पुगेको छ ।” मिस्ट्री खोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि