जेठ ०६, २०८१, आइतबार
               

आफ्नो पुनर्नियुक्तिका लागि प्रदर्शन नगर्न कुलमानको आग्रह

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिका लागि सडक प्रदर्शनमा नउत्रन आग्रह गरेका छन् ।

पुनर्नियुक्तिको माग गर्दै संघीय राजधानीसहित देशका विभिन्न भागमा स्वतःस्फूर्त रूपमा प्रदर्शन भएपछि कुलमान आफैँले त्यस्तो नगर्न विज्ञप्ति निकालेरै आग्रह गरेका हुन् । उनले विज्ञप्तिमा पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कुलमानले महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन अनुरोध गरेका छन् ।

उनले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकोले त्यसलाई सबैले आत्मसाथ गर्नुपर्ने उल्लेख गरेका छन् । उनले नियुक्तिको सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकोले यसबारे उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ भनेका छन् । सँगसँगै उनले नेपाल सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको जनाएका छन् ।

यस्तो छ प्रेस विज्ञप्तिको पूर्ण पाठ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।


कुलमान घिसिङ

निवर्तमान कार्यकारी निर्देशक

नेपाल विद्युत् प्राधिकरण

२०७७/०६/०३  शनिबार

काठमाडौं

यो पनि