इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेको बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा तीन करोड रुपैयाँको लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ ।
उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ । यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैँचीलाई १००–१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ ।
अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ । ‘हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ’, सञ्चालक भट्टराईले भने, ‘यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ ।
स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।’ अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ ।
‘एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन’, सञ्चालक भट्टराईले भने, ‘एउटा नमूना सुरुवात गरेको हो ।’ भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ । उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ ।