काठमाडौं । प्राय: सबै तरकारीमा प्रयोग हुने प्याजमा कालोबजारी सुरु भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा कालोबाजरी सुरु भएको हो ।
देशकै ठूलो र पुरानो तरकारी बजार कालीमाटीमा प्याजको मूल्य बुधबार एक्कासि मंगलबारको तुलनामा सतप्रतिसत वृद्धि भएको छ । मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा किनबेच भएको प्याज बुधबार बिहान १३० पुगेको थियो ।
तर, यो विषयमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति मौन छ । एकैदिनमा तरकारीको मूल्य सतप्रतिसत वृद्धि हुँदा समिति मौन हुनुले आमउपभोक्ताले प्याजको भाउ बढ्नुमा सो समितिको पनि हात रहेको भनी आशंका गरेका छन् । तर, सो समितिले अनुगमन सुरु गरेको बताएको छ । यता व्यापारीले भारतबाट प्याज नेपाल आउन नसक्दा मूल्य बढ्नु स्वाभाविक भएको बताएका छन् ।