जेठ ०७, २०८१, सोमबार
               

केरामा खपटे र गवारोः किसान चिन्तित

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

गलेश्वर । म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवारो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका २ खबरा गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका सोवित शर्मा केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् ।

उनले सात रोपनी जग्गामा केरा खेती गरेका छन् । खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा संकटमा परेको शर्माले बताए । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुवातमा सामान्य देखिए पनि केही समय पछि भने खेतीमा ठूलो क्षति पुर्याएको उनको भनाइ छ । 

हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको छ । उनले भने, ‘झ्याङ भएको केरामा किरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।’ उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक शर्माले जानकारी दिए ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आएका अर्का कृषक हिरा कुवँरले पनि गुनासो गरे । ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन शुरू गरेको केराको पात सुकेर बोट मर्न थाल्छ’, उनले भने । बेनी नगरपालिकासँगै जिल्लाका मालिका, अन्नपुर्ण, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि