जेठ ०७, २०८१, सोमबार
               

सोलु काेरिडोरको चौथो पटक म्याद थप

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

निर्माणाधीन सोलु काेरिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्नेगरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । 

सोलुखुम्बुमा उत्पादन हुने विद्युत् बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण गरिएको भए पनि विभिन्न कारणले समयमा नै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ११ तिङ्लामा सबस्टेसन निर्माण भइसके पनि काेरिडोरको काम अझै सक्ने छाँटकाँट छैन ।

१५ जुलाई २०२० मा कार्य सम्पन्न गर्ने सर्तमा तेस्रो पटक म्याद थप गरिएको भए पनि कोरोनाका कारण समस्या भएको भन्दै आगामी ३१ डिसेम्बर अर्थात् १६ पुससम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमले बताए । आयोजनाको काम गर्न समस्या नभए पनि कामदार ल्याउन समस्या भएको उनको भनाइ थियो । 

भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा म्याद थपिएको समयमासमेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ । 

सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ टावर बनाउनुपर्ने भए पनि अहिलेसम्म २ सय ८१ वटाको फाउण्डेसनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नुपर्नेछ तर पाँचवटाको सुस्तगतिमा काम भइरहेको छ । 
     
यस्तै, ९० किलोमिटर दूरी रहेको काेरिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । 

अहिले ११ केभी प्रसारण लाइनमार्फत रुम्जाटार सबस्टेसनमा लगेर खपत गर्ने प्रयास गरिए पनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत् आयोजनाले जनाएको छ । यस्तै, सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि