काठमाडौं । अब घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् ।
मंगलबार राष्ट्र बैंकले सोसम्बन्धी एकीकृत निर्देशन सार्वजनिक गरेसँगै बैंकहरुले ब्याजदर परिवर्तन गर्न नपाउने भएका हुन् ।
मंगलबार जारी भएको सो व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । जसका कारण ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको सोही दर नै कर्जाको परिपक्वको अवधिभर लागू हुनेछ ।
‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ,’ सो निर्देशमा उल्लेख छ । ‘यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’
तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पाउनेछन् ।
यो निर्देशन जारी हुनुपूर्व मासिक/त्रैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जालगायत आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।