काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको छ ।
किसानले समयमा मल नपाएको विषयमा छलफल गर्न भन्दै सो समितिले कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको हो । सो समिति सभापति पूर्णाकुमारी सुवेदीका अनुसार बुधबारको समितिको बैठकमा कृषिमन्त्रीलाई बोलाइएको हो ।
पटक–पटक ताकेता गरेर समयमै मल बिउ उपलब्ध गराउन निर्देशन दिए पनि समस्या देखिएकाले मन्त्रीलाई छलफलमा बोलाएको उनको भनाइ थियो । केही दिनअघि मात्र मन्त्री भुसालले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै माफी मागेका थिए ।
समयमा मल नल्याएको भन्दै कृषि मन्त्रालयले सैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिसँगको सम्झौता रद्ध गरी धरौटी जफत गरेको छ ।