मंसिर ०७, २०८१, शुक्रबार
               

आर्थिक अभावले नवलपुर हुप्सेकोटकी वडा सदस्य महिलाको उपचारमा समस्या

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

कावासोती । आर्थिक अभावका कारण  हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला परेकी छन् । 

दुई वर्षअघि पाठेघरमा क्यान्सर भएको थाहा पाएपछि चिकित्सकले उपचारको क्रममा पाठेघर फालिदिएका थिए । त्यसपछि दुई पटक किमो चढाइएको थियो । सुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब १० लाख रुपैयाँ खर्च भएको उनका श्रीमान् सन्तबहादुर नेपालीले बताए । पहिलो पटक निःशुल्क किमो चढाएकोमा दोस्रोपटक वडा नम्बर ४ को संयोजनमा आर्थिक संकलन गरी उपचार गरिएको श्रीमान् सन्तबहादुरले बताए ।

श्रीमतीको उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको जग्गासमेत बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ । अहिले सम्पत्तिको नाममा सानो घर रहेको र त्यो पनि बैंकमा धितो रहेको उनले दुखेसो पोखे । 

वडा सदस्य नेपालीलाई फेरि पनि किमो चढाउनुपर्ने र त्यसको लागि पैसा नभएपछि उनि बिस्तरामा थलिएकी छन् । दई महिनाअघि सन्तबहादुर स्वयं बिरामी परेका थिए ।

उनलाई अल्सर र पित्तथैलीमा समस्या देखएिपछि बल्लतल्ल उपचार गराएकोमा अहिले पुनः श्रीमतीलाई समस्या देखिएपछि यो परिवार समस्यामा परेको छ । १५ दिनदेखि ओछ्यानमा श्रीमती थलिएपछि श्रीमान् सन्तबहादुरले हेरचाह गर्दै आएका छन् । तर, उपचारको लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन भने सकेका छैनन् ।

वडा कार्यालयबाट यसअघि पनि आवश्यक सहयोगको लागि समन्वय गरेको र अहिले पनि सहयोग संकलनका लागि आवश्यक समन्वय गरेको हुप्सेकोट–४ का वडाध्यक्ष रोशन थापाले बताए । श्रीमान् सन्तबहादुरले उपचारको लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

सहयोगको लागि सुमित्रा नेपालीको नाममा एनसीसी  बैंक हुप्सेकोट शाखामा रहेको खाता नम्बर इ ०००५३२४२५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनका श्रीमानको मोबाईल नम्बर  ९८०५४५३५८५ मा  सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन् ।

यो पनि