म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण सुरु भएको छ । नगरपालिका अन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण सुरु गरिएको हो ।
हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण सुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले ४८ लाख ४९ हजार ४२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कोरोनाको जोखिमका बीच पनि निर्माण कम्पनीले स्थानीय मजदुर परिचालन र निर्माण सामग्री जुटाएर भवन निर्माणलाई तीव्रताका साथ अघि बढाएको छ ।
यसैगरी बेनी नगरपालिकाको वडा नं ७ को कार्यालय र सहरी स्वास्थ्य क्लिनिकका लागि पुस्तकालय चोकमा अर्को भवन पनि निर्माण भइरहेको छ । तीन तले भवनको गत वर्ष कालीगण्डकी निर्माण सेवासँग २४ लाख रुपैयाँमा सम्झौता भए अनुसारको काम सकिएको छ ।
यो वर्ष थप बजेटको व्यवस्थापन गरेर भवनलाई पूर्णता दिइने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । यसैगरी अर्थुङ्गेमा वडा नं ६ को कार्यालय भवन निर्माण सुरु भएको छ । ५१ लाख ७४ लाख २५३ रुपैयाँमा तिलक निर्माण सेवाले ठेक्का लिएको थियो । गत आर्थिक वर्षमा कोरोना र बन्दाबन्दीका कारण काम प्रभावित भएपछि म्याद थप गरेर निरन्तरता दिइएको लेखा अधिकृत मीनबहादुर बानियाले बताए ।
बेनी नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय खारेज भएको तत्कालीन भुसंरक्षण कार्यालयका लागि निर्माण भएको भवनमा छ । यसैगरी तत्कालीन अर्थुङ्गे गाविसको पुरानो भवनमा तला थप गरिएको छ । धेरै शाखा र कर्मचारीका लागि कार्यकक्ष अभाव भएपछि नयाँ भवन निर्माण थालिएको हो ।