काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७६/0७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल विद्युत् प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत् भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७७मा ४१ करोड ३० लाख रुपैयाँको विद्युत् निर्यात गरेको प्राधिकरणले त्यसलाई बढाएर ९५ करोड ७० लाख रुपैयाँ पुर्याएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आवमा ९ करोड युनिट ऊर्जा निर्यात गर्ने लक्ष्य राखेकोमा १० करोड ७० लाख युनिट विद्युत् निर्यात भएको छ । यो कुल आयातको तुलनामा ६ प्रतिशतबराबर हो ।
गत आवमा सबैभन्दा बढी असोजमा २ करोड ९६ लाख युनिट ऊर्जा भारत निर्यात गरिएको थियो । सबैभन्दा कम वैशाखमा सबैभन्दा कम १० हजाुर युनिट ऊर्जा निर्यात गरिएको थियो । कुशहवा-कटैया, परवानीपुर-रक्सौल, ढल्केबर-मुजफ्फरपुर र रामनगरबाट भारत विद्युत् निर्यात गरिएको हो ।
आव ०७२/७३मा साढे ३१ लाख, ०७३/७४मा २६ लाख ९० हजार, ०७४/७५मा २९ लाख ४० हजार, ०७५/७४मा ३ करोड ४७ लाख र ०७६/७७मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको थियो ।
भारतबाट आयात हुने विद्युतको अंश घट्दै गएको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ ।